गाउँपालिकालाई आन्तरिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने अभिप्रायले मकवानपुरको कैलाश गाउँपालिकाले माघ १९ गते शनिबार पत्रकार तथा साहित्यकारहरूको जमघट आयोजना गरेको छ । उक्त कार्यक्रमको अवसरमा प्रदेश विधायक प्रदीप वालाचन( ओम घलान) कृत संस्मरण सङ्ग्रह नलेखिएका गाथा´को गृह विमोचन पनि सप्पन्न भएको छ ।

सो कृतिको विमोचनपछि उन्मुक्त पुस्ताका अभियन्ता माधव घिमिरे `अटल ´ले सङ्क्षिप्त टिप्पणी गर्दै कृति आफैंमा एउटा अलिखित जीवन्त दस्तावेज भएको दाबी गरे । संस्मरणकार एक उत्कृष्ट लेखक भएको यसअघि प्रकाशित तीनवटा कविता सङ्ग्रहबाट पनि सिद्ध भइसकेको उनको जिकिर थियोे ।

कार्यक्रममा कृतिकार प्रदीप वालाचनले रचनागर्भबारे छोटो मन्तव्यका सिलसिलामा भने – मैले जे भोगेँ जनयुद्धका दर्मियानमा सोही कुरालाई इमानदारपूर्वक अभिलेखीकरण गर्ने कोसिस गरेको छु । ´ आफ्नो ध्येय युद्धको आशातीत: फल प्राप्ति हुन नसके तापनि समरका क्रममा भएको योगदान गुमराहमा नपरोस् भन्ने रहेको उनको कथन थियो ।

सो समारोहलाई समापन गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क बहादुर मोक्तानले उक्त गाउँपालिका प्राकृतिक रूपमा मनोरममात्र नभई सांस्कृतिक रूपमा पनि विशेष भएको तर्क गरे । गाउँपालिकामा तीसवटा होमस्टे निकट भविष्यमा तयार हुने र आन्तरिक तथा धार्मिक पर्यटनका निम्ति यसले सहयोग गर्ने उनको दाबी छ । आफूले कृषि उत्पादनबारे पुस्तक निकालेरै कृषकलाई प्रोत्साहित गर्न चाहेको र पत्रकारिता तालिम सञ्चालन गर्ने समेत सोचेको उनको भनाइ थियो ।

प्रलेस मकवानपुरले `गाउँगाउँमा कविता ´ अभियान अन्तरगत संयोजन गरेको उक्त कार्यक्रममा मुक्तान थेबा, मसान उपासक, अनिता न्यौपाने , माधव घिमिरे `अटल´ , रमेशमोहन अधिकारी , अनिश न्यौपाने `भावना ´ सीएम रिमाल, सानुभाइ विश्वकर्मा,जनार्दन खनाललगायतका स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए । समारोहमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले कैलाश गाउँपालिकाको विकासमा आफूले समेत सक्दो सघाउ गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Comments

comments