M2E1L0-0R350B320

विश्वमै दुर्लभ मानिने मार्बल्ड (छिरबिरे बिरालो) पाँचथरमा भेटिएको छ । जिल्लाको उत्तरपूर्वी याङवरक-२, फलैंचास्थित दुई हजार ७५० मिटर उचाईको जंगलमा राखिएको क्यामेरा ट्रयापमा मार्बल्ड परेको हो ।

उक्त तथ्यले विश्व वन्यजन्तु संरक्षण र अध्ययनको क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताइएको छ ।

मेची-पहाडका ताप्लेजुङ, पाँचथर र इलामका सामुदायिक र राष्ट्रिय वनहरुमा वन्यजन्तुबारे जानकारी संकलन गर्न राखिएको क्यामेरा टूयापमा दुर्लभ मार्बल्ड परेको बताइएको छ । एक सय सात स्थानमा राखिएका क्यामेरामा १७ प्रजातिका मझौला स्तन्धारी जनावर परेका थिए ।

जसमा मार्बल्ड पनि परेको हो । न्यूजिल्याण्डको लिङ्कन विश्वविद्यालय र नेपालस्थित रेडपाण्डा नेटवर्ककका सोधकर्ताले मार्बल्डको तस्विर संकलन गरेका हुन् । मार्बल्डको तस्विर नेपालमै पहिलोपल्ट खिचिएको दाबि समेत गरिएको छ ।

मार्बल्ड (छिरबिरे बिरालो) को फोटो सन् २०१८ मा गरिएको क्यामेरा टूयापमा परेको रेडपाण्डा नेटवर्ककका कार्यक्रम संयोजक तथा शोधकर्ता सोनाम टासी लामाले जानकारी दिए । मार्बल्ड नेपालमा पनि छ भनेर अध्ययनहरुमा भेटिए पनि पहिलोपल्ट तस्बिर खिचिएको लामाको भनाई छ ।

उनका अनुसार छिमेकी मुलुक चिन र भारत जस्ता देशमा भने मार्बल्डको तस्विर खिचिएको थियो । मार्बल्ड घरपालुवा बिरालोभन्दा केही ठूलो हुने बताइन्छ । यसको रङ्ग समेत केही गाढा हुने बताइएको छ ।

पाँचथरमा गरिएको क्यामेरा टूयापमा परेको उक्त तस्विर यो महिना ‘नेचर कन्सर्भेसन’ ओपन एक्सेस जर्नलमा छापिएको छ । जसमा मार्बल्ड बिरालोको नेपालमा पहिलो फोटोग्राफिक रेकर्ड बनेको उल्लेख छ ।

यो बिरालो संसारका १३ देशमा पाइने बताइन्छ । पाँचथरको याङ्वक-२, फलैंचामा मार्बल्ड भेटिए पनि अन्य कुन(कुन जंगलमा पाइन्छ, अध्ययन हुन बाँकि छ । शोधकर्ता लामाले यो तथ्य फेला पनुलाई वन्यजन्तु अध्ययनको क्षेत्रमा ठूलो सफलता भनेका छन् ।

 

Comments

comments