धनन्जय ढकाल,  अमेरिका 

नेपालीहरुले यस बर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा एकता दिवसलाई देश भित्र अनि बाहिर पनि धुमधामसँग मनाए ।त्यसै गरी जनवरी १ लाई टोपी दिवसको रुपमा र माघ १ गतेलाई माघे सक्रान्ति भनेर धुमधामसँग मनाए । टोपी नेपालीको पहिचान थियो भने पुस २७ गते एकता दिवस तथा पृथ्वी जयन्ती र माघेसक्रान्ति संस्कृतिक पर्ब। त्यसैले अहिले नेपालीले आफ्नो जरो पक्डिएर पृथ्वी जयन्ती तथा एकता दिवस मनाएका हुन् तर नेपालमा सरकारी तहमा यस सम्बन्धी  कुनै कार्यक्रम भएनन्।

पृथ्वी नारायण शाहले एकीकरण गरेर नेपाल नबनाएको भए के आज हामी नेपाली हुन पाउँथ्यौ ? किन आज पृथ्वी नारायण शाहलाई सम्झन कन्जुस्याईँ गरेका छौँ हामीले ? के उनी राजा हुन् भनेर ? राम्रो कामका लागि चाहे राजा हुन् या रैती वा अरु कोही आखिर उनी नेपाली नै हुन्। राजाकै कारण हो भने भगवान गौतम बुद्ध पनि त कुनै जमानाका हाम्रै लुम्बिनिका राजा थिए के उनलाई पनि हामी नसम्झने ?

हाम्रो यस्तै पनले गर्दा शान्तिका प्रतिक भगवान बुद्धलाई पनि नेपालका होइनन भन्न थाली सके अरुले । पहिले युगौँ युगदेखी मनाई आएको एकता दिवस र त्यो दिन बिदा दिने चलन अहिले आएर किन एकाएक रोकियो ? किन अहिले हामीले आफ्नो धर्म जति भाषा र संस्कृतीलाई छोड्दै अरुको धर्म भाषा र संस्कृतिलाई अपनाउँदै आएका हौँ ?

तर अरुले हाम्रा तिनै संस्कृत र बेद गीता आदिको ग्रन्थबाट बिज्ञानका ठुल्ठुला आविस्कार गरेका कुराहरु अवमुल्यन गरी फेरी हामीले त्यसैलाई अपनाई रहका छौँ ।

हामीले आफ्नो जरो पक्डेर त्यसको उत्पति र स्थान अथार्त किलो र थलो किन नखोज्ने ? यिनै बिषयको अनुसन्धान गर्नु र त्यसलाई अपनाउनु नै हो जरो किलो महाअभियान।

हामीसँग के कमी छ ? खोज्नु मात्र जान्नुपर्छ र यसलाई युग अनुसारको बैज्ञानिक र विकसित रुपमा परिणत गर्दै लैजानुपर्छ। हामीसँग संसारकै पुरानो बैद्धिक सनातन धर्म संस्कृति छ, संसारकै सर्बश्रेष्ठ ग्रन्थ बेद गीता छ, संसारकै जेष्ठ भाषा संस्कृत लगायत अरु सहायक भाषा छन्।

थुप्रै जनजाति र पेशाकर्मी छन्, भरिपूर्ण प्राकृतिक सम्पदा छ हामीसँग धेरै कुरा छ । त्यसैले अब हामीले आफ्नो राज्य व्यवस्था पनि देश सुहाउँदो मौलिक रैथाने राज्य ब्यबस्था गर्नुपर्दछ।

अब नेपालीले आफ्नो पहिचान खोज्ने बेला आएको छ हाम्रो देशभित्र युगौं युग देखी भएको हाम्रो धर्म, भाषा, जाति, संस्कृती र आफ्नै पनलाई विकसित र वैज्ञानिक ढंगले अगाडी बढ्यौँ भने मात्र हामी नेपालीको संसारमा उच्च सम्मान हुनेछ भने हामी विकसित हुने छौँ । हाम्रो पहिचान रहने छ अन्यथा हामी हाम्रो नेपाल र पछि नेपाली दुवै गुमाउने छौँ।

पृथ्वी  नारायण शाहले नै भनेका थिए नेपाल एउटा चार जात ३६ वर्णको सिंगो फुलबारी हो। त्यसैले नेपाल कुनै एक जात जाति वा जनजातिको कुनै एक वर्ग बिशेषहरुको मात्र देश नभएर बिबिधताहरुको समिष्ट रुप हो। तथापि सबैको संयोजन भइसकेर एउटा राज्य राष्ट्र (state nation) को रुपमा विकसित भैसकेको हुँदा सम्पूर्ण जाति समुदाय, सारा भाषिक समुदाय, सबै धार्मिक समुदायको सहभागिताबाट निर्मित सिंगो नेपाल हो र यस प्रति इमन्दार रहनु नै राष्ट्रियता हो।

नेपालमा रहेका प्रत्येक जातीय समुदाय प्रति राज्यको दायित्व समान छ र प्रत्येक जातीय समुदायको राष्ट्र प्रतिको दायित्व पनि समान छ । नेपाल सृष्टिकाल देखिनै सामाजिक सांस्कृतिक विविधता भएको हिमवत खण्डको देश हो।

हाम्रै पुर्खाहरूले यो देशको माटो र समाजमा सुरू गरेका र आफ्नै सांस्कृतिक मौलिकता र सभ्यता भएका मौलिक रैथाने धार्मिक सांस्कृतिक समुदायहरू हाम्रा जिवन्त परिचय हुन्।

बैद्धिक सनातन हिन्दु, बौद्ध, मुन्धुम (किराँत), जैन, र बोन्पो साथै अन्य प्राकृति पुजक समुदायको उद्गम स्थल अर्थात जन्मभूमि नेपाल भएकोमा हामी गर्व गर्दछौं। यी धर्म संस्कृति र सभ्यता नेपालबाट मासिएभने इनको जाने ठाउँ कहीँ कतै छैन।

नेपालमा इनको जरो किलो उखल्ने प्रयास भइरहेको छ। त्यसको प्रमाण हो युनिभर्शल पीस फेडेरेशनको भख्खरै सम्पन्न कार्यक्रम। यी हाम्रा आफ्ना मौलिक भाषा, धर्म संस्कृति र सभ्यता मासिनु भनेको हामी पनि सकिनु हो।

यिनै बिषयको बृहत्त अध्ययन र अनुसन्धान गर्न भनि २०७२ साल देखी नेपालमा शुरु गरिएको जरो किलो माहाअभियानको अहिले आएर  अपरिहार्यता झन् अझ बड्दै गएको छ।

 

 

(हाल अमेरिकाको टेक्सासमा रहँदै आएका ढकाल जरो किलो अभियानका संयोजक हुन )

Comments

comments