राजु झल्लु प्रसाद

म ब्युझिदा बिहान भैसकेको थिएन । हिजो रातभरको थकान(निन्द्रा) पश्चात् म आज दिनभर सुतेकी थिए  घाम सुत्ने तर्खरमा थियो । म भर्खरै उठेको थिए !

ढ्याक..ढ्याक !

ढोकामा पक्कै उहीँ हुनुपर्छ । यत्तिखेर आएर बिहानीपख जान्छ- उ । भन्छ, म निदाउन सक्दिन- यसैले तिमिकहाँ आउछु । उसले त यो पनि भनेको थियो, म तिम्रो काखमा सजिलै निदाउन सक्छु । तिमिलाई चाहिएजति पैसा दिन्छु, तिमि मलाई तिम्रो काख देउ ।

उ अग्लो छ- उचाई मा ।
राम्रो छ- हिस्सी छ ।
ब्ल्याक एन्ड ह्वाइट छ, अनुहार ह्वाइट, दारी ब्ल्याक । झट्ट हेर्दा जुँगामुठे छ,  माचो छ, जवान छ  ।
तर जवान केटामा हुनुपर्ने केइ कुरा पनि उसमा छैन् । त्यो जोश, त्यो बल…अहँ केइ छैन् ।

उ मैले पहिलोपटक भेट्दा खेरी भन्दा सार्है दुब्लाएको छ । रोगी छ जस्तो लाग्छ ! दया लाग्छ उसको स्थिति देखि ।

साझपख आउँछ, मेरो काखमा पल्टिन्छ । र, रातभर निदाउँछ ! बिहान नहुदै उठेर गै’हाल्छ । अनि फेरि भोलिपल्ट आउँछ, ..र भन्छ म हिजो राती पनि निदाउनै सकिन ।

भित्र छिर्नेबित्तिकै हास्छ, म पनि हासिदिन्छु । तर उसको ओठमा हासो सुहाउँदैन । बेमौसमी हासो ! कति नराम्रो देखिन्छ, उ हास्दाखेरी ! त्यो म मात्रै जान्दछु ।

विगत 10 दिनदेखि उ मकहाँ आइरहेको छ, लुगा पनि सधै एउटै लगाँउछ, सायद खाना पनि खादैन होला । तर उ सिग्रेट खु पिउँछ ! मलाई उसले सिग्रेट पिएको मनपर्छ । माचो देखिन्छ- सिग्रेट तानिरहँदा उ ।

***

सुन्नुस त

हँ भन ।

केइ खानुहुन्छ ?

खान्न् ।

किन खानुहुन्न ?

मलाई भोक लाग्दैन ।

केइ पनि खानुहुन्न ?

खान्न ।
चुरोट पनि ?
पिउँछु ।

उ जिद्दी छ ! एकदमै रुखो व्यबहार गर्छ । आफ्नो कुरामा हठी छ । भनेको मान्दैन् । उसलाई सम्झाउन सकिन्न ! सम्झाए पनि म सम्झिन सक्दिन भन्छ ।

केइ पनि नखाए त मरिन्छ नि !

अँ मरिन्छ ।

केइ खानै मन लाग्दैन ?

लाग्दैन ।

केइ नखाई सुत्दा निद्रा पर्छ त अनि ?

पर्दैन ।

तर उ मेरो काखमा सजिलै निदाउँछ, मलाई थाहा छ । उसले हिजो पनि यै भनेको थियो । म निदाउन्न, मलाई भोक लाग्दैन, मसँग कुनै सपना छैनन्, ..उ सधै यस्तै भन्छ ।

उ मलाई एक रातको २,००० दिन्छ !

पहिलो रात त म खुसी भएको थिए ! मैले ४ जना ग्राहकबाट जम्मा गर्ने पैसा उसले एकैचोटि दिएको थियो ! उसले दोस्रो रात पनि २००० दियो !

तेस्रो रात उसले भनेको थियो- ४ दिन भयो म सुत्न सकेको छैन । एक जवान युवा, एक बेश्याको काखमा सजिलै निदाउन सक्छ भन्ने मैले सुनेको थिए । अनि म तिमिकहाँ आएको थिए । खै २ रात भै’सक्यो म किन निदाउन सक्दिन् ?”… उ च्याठ्ठिएको थियो- त्यो रात । “…कि तिमी बेश्या होइनौ ? होइनौ भने भन म जान्छु अन्तै, यो शहरमा बेश्या कति छन् कति ?”

उसले सुनेको सहि थियो ! जवान त के चाउरिसकेको लिङ्ग बोकेर आउने बुढा पनि सजिलै निदाएका छन्, मेरो अङ्गालोमा । उ पनि निदाउँछ मेरो काखमा । तर उ सधै भन्छ कि म हिजो राती पनि निदाउनै सकिन । उ किन यसो भन्छ, म जान्दिन ! मलाई हैरान बनाएर छोडेको छ उस्ले ।

 

मैले आफुलाई बेश्या प्रमाणित गर्न सब्बैथोक गरे । आफुलाई सर्वाङ्ग नाङ्गो बनाए ! उसको हातहरु समातेर आफ्नो छातिमा लगे ! तर उसले हात झार्यो ! आफ्नो योनिमा उसको औला पुराए । तर उसले औला हटायो !
आफ्नो ओठ उस्को ओठमा जोडे ! तर उसले मलाई पर…फ्यालिदियो ।

उसको लिङ्गमा मैले मेरो हात पुराए । तर…

उ म(एक बेश्या) कहाँ सुत्न होइन, निदाउन आउथ्यो ! यस्तो लाग्थ्यो उसले आरामको निद ननिदाएको थुप्रै समय भै’सकेको थियो !

पहिलो दुई रातसम्म त मैले उसलाई बुझ्नै सकिन ! उ सुत्न आएको होला ठानेर आफू नाङ्गिए- उसलाई नङ्गाउन खोजे ! तेस्रो रातबाट मैले यो सब छोडीदिए !

उ आउथ्यो ! मेरो काख उसको तकिया बन्थ्यो ! म आफ्नो औंलाहरु उस्को कपालमा सलबलाइदिन्थे ! उ आँखा चिम्म गर्थ्यो ! उसको आखाँमा चुमिदिन्थे- उ सन्चो मान्थ्यो ! यसै गरिरहु भन्थ्यो-म त्यसै गरिरहन्थे !

भरे उ निदाएपछी म उठ्न खोज्थे- तर उ पकृन्थ्यो ! जानै दिन्न थियो ! म जुन अवस्थामा हुन्थे- सोही अवस्थामा उसलाई अपनाउनु पर्थ्यो ! हातगोडा चाल्न पाउदिन थे !……

सुरुसुरुमा त खुटाहरु झन्झनाउथ्यो, मक्किन्थ्यो ! अहिले यो सब बानी पर्यो ! उ निदाएको आनन्द मानीमानि हेरिबस्थे ! कसैलाई निद्रा दिनु पक्कै पुण्यको काम हो ! तर मलाई सबैले बेश्या भन्छन, पापिनी भन्छन् !
बिहानी पख म पनि निदाउदो रहेछु ! ब्युझिदा हजारको दुइवटा नोट मेरो ब्रा भित्र हुन्थ्यो ।

मलाई यो सब अचम्म लाग्थ्यो ! एउटि बेश्यालाई दिनको २ हजार भए अरु के चाहिन्थ्यो ! म आफ्नो काम गर्थे ! थोरै रक्सी पिउथे ! कहिले खाना खान्थे, कहिले खान्न थे ! दिउँसो अङ्ग्रेजीखाले त्यस्तै मुभीहरु हेर्थे ! त्यसपछि एकैछिन सुत्थे ।

कुनै यस्ता पनि ग्राहक हुन्छन, जो दिउसै म कहाँ आउछन् ! उनिहरु पनि म जस्तै अङ्ग्रेजीखाले मुभी हेर्दा रहेछन् ! पोज पोज को कुरा गर्थे ! म उनिहरुलाई अप्नाउथे ! थोरै पैसा दिन्थे ! म खुसी नै हुन्थे ।

तर जबजब साझ ढल्किदै जान्थ्यो- म दुखी हुन्थे ! फेरि त्यो केटोलाई मैले सुताउन पर्थ्यो ! उसलाई सुताउनमा त मलाई कुनै आपत्ति थिएन ! तर उसलाई गत राती उ सुतेको थियो..निदाएको थियो भनेर मनाउनै सक्दिनथे !

उ गत राती आफु निदाएको कुरा विश्वास नै गर्दैन्थ्यो !
भन्थ्यो- हिजो राती पनि म निदाउन सकिन ! तिमी साच्चै बेश्या हो कि होइनौ ? होइनौ भने भन म जान्छु अन्तै, यो शहरमा बेश्या कति छन कत्ती ?…

***

लिनुस थोरै पिउनुस !
म पिउन्न !
रक्सी हो ! थोरै पिउनुस !
पिउदिन !
खाना खानुहुन्छ ? म मगाइदिउ ?
पर्दैन ! म खान्न !
चुरोट धेरै नखानुस् ! धुवाँले ज्यादा असर गर्छ !
मलाई धुवाँ मनपर्छ !
धुवाँ मनपराउनुस तर धुवाँ नबन्नुस !
हामी सबै धुवाँ हौं ! बन्न पर्छ र ?

..उ त्यो दिन पनि उ उसै गरि पेश आयो ! उस्तै रुख्खाइलो आवाज ! मलाई बिस्तारै बिस्तारै उसको चुरोट पिउने अन्दाजसँग मात्रै होइन ! उसको रुखो आवाज, कम बोल्ने बानी, गन्हाउने जीउ, घुमृएका कपाल, कालो दारी, बाक्लो परेला, …सब्बैसँग प्रेम हुन थालेको थियो ! म उसलाई मन पराउन थालेकी थिए !

म डराउन थालेकी थिइ..,उसलाई के भएको छ ? उ किन यस्तो छ ? के उ सधै यस्तै हो ? कि उसलाई कुनै रोग छ ? उ बस्छ कहाँ ? उस्को नाम के हो ? उसको नजिकका मान्छे कोको हुन् ? के म पनि उस्को नजिकको मान्छे हो ? के उ पनि मेरो नजिकको मान्छे हो ?

हो, उ मेरो नजिकको मान्छे हो !

तर उ हो को ?

म उसको प्रत्येक कुरा जान्न चाहन्थे !

तपाईं मलाई आफ्नो नाम किन बताउनु हुन्न ?

मलाई मेरो नाम थाहा छैन !

यो त हासिमजाकको कुरा भयो ! आफ्नो नाम सबैलाई थाहा हुन्छ !

मलाई थाहा छैन !

ठिकै छ ! भन्न हुन्न भने म सोध्दिन !

जान्दो हु त म भन्ने थिए !

कहाँ बस्नुहुन्छ ?

मलाई थाहा छैन !

भनेसी यो पनि जान्नु हुदैन् !

अँ म जान्दिन !

राति त मकहाँ आउनुहुन्छ ! दिउँसो ? दिउँसो कहाँ जानुहुन्छ ?

दिउँसो म सुत्छु !

कहाँ गएर सुत्नुहुन्छ ?

जहाँ निन्द्रा लाग्छ !

दिउसो सुत्दा निद्रा लाग्छ ?

लाग्छ !

र, राती ?

अहँ म निदाउन सक्दिन !

के गर्नुहुन्छ ? मलाई हर रात् २००० दिनुहुन्छ ! कहाँबाट ल्याउनु हुन्छ ?

म तिम्लाई २ ह..ह…ह्ज….हजा….हजार दिन्छु ?

अँ दिनुहुन्छ ? किन तपाईंलाई याद छैन?

म सम्झिन सक्दिन ! उ फेरि सिग्रेट सल्काउछ !
धेरै चुरोट नखानुस् ! धुवाँले असर गर्छ !
मलाई धुवाँ मनपर्छ !

मैले भने नि उसलाई सम्झाउन सकिन्न ! …उ सम्झिन सक्दैन ! उ केइ पनि सम्झिनै सक्दैन् ! यतिसम्म कि उ आफु गत रात निदाएको कुरा पनि सम्झन सक्दैन !

तपाईं आफ्नो बारे कुनै पनि कुरा..कुनै एक कुरा..केइ पनि …,तपाईं आफ्नो बारे के सम्झनुहुन्छ ?

यो घडीमा अर्लाम सधै एक रिङ को बज्छ- उ घाटिमा माला झै घडी लगाउँछ ! ओ ..यो कुरा मैले अघि नै भन्नू पर्ने थियो ! उ त्यो घडी देखाउदै भन्छ,..” यसको रिङ चेन्ज गरिदिन सक्छौ?”

अर्लाम किन राख्नुहुन्छ ? निदाउन सक्दिन भन्नुभएको होइन ?

म राती निदाउन सक्दिन ! दिउँसो निदाउछु ! जब यो अर्लाम बज्छ…यो फोकट्ट्याको रिङ बज्छ…, म ब्युझन्छु ! अनि मलाई सम्झना हुन्छ कि मलाई तिमिकहाँ आउनुछ ! अनि म हतारहतार तिमिकहाँ आउछु !

मलाई उस्को यो कुराले ज्यादै अचम्मित बनाउछ ! – “अनि मलाई सम्झना हुन्छ कि..!” उ मकहां आउने कुरा कसरी सम्झिन्छ ? जब कि मलाई लाग्छ उसलाई भुल्ने रोग छ ! भोक नलाग्ने रोग छ ! निनदाउने रोग छ ! एम्निसिया बिरामिले मलाई कसरी सम्झन्छ ?… तब मलाई उ प्रती शंका भयो !

मकहाँ आउनेबाहेक तपाईं अरु के सम्झनु हुन्छ ?
तिमिकहाँ आएर मलाई निदाउनु छ ! म यो पनि सम्झन्छु !
यो बाहेक ?

किन सोध्या ? तिमी बेश्या हौ कि पुलिस मलाई त लाग्छ तिमी पुलिस हौ ? हौ तिमी पुलिस ? भन मलाई को हो तिमी…? उ एकाएक पसिना निकाल्छ ! डराउँछ !

रुन्छ ! कराँउच !
अनन्त: म उसलाई अगाँलो मार्छु ! उ शान्त हुन्छ !

केइ बेर पछि उ हासेको थियो ! धेरै बेर हास्यो ! मलाई पनि हास्न कर गर्यो ! पहिले त असजिलो लाग्यो..अप्ठ्यारो भयो ! पछि उसँगसँगै हासिदिए !

हामी दुवै धेरै बेर हासेयौं !

 

तिम्रो सपना के हो ?

किन सोध्नुभयो ?

भन न के हो ?, उ अलिक बेग्लै लागेको थियो- त्यो दिन मलाई !

एउटा राम्रो केटासँग बिहे गर्ने ! २ छोरा जन्माउने ! कुनै इज्जतिलो काम गर्ने ! …तपाईंको ?

मेरो निदाउने ! मलाई निदाउनु छ !

ए साच्चै तपाईं मान्नुस, नमान्नुस..तर तपाईं विगत ११ दिन देखि मकहाँ आइरहनु भएको छ ! मेरो काखमा निदाइ…

म कहाँ निदाए ? म निदाउन सक्दिन ! मेरो सपना हो निदाउने ! म कहाँ निदाए ?

मलाई मेरो कुरा टुङ्गाउन दिनुस्, अनि तपाईं बोल्नुस !

उ चुप हुन्छ !

…तपाईं विगत ११ दिनदेखि मकहाँ आइरहनु भएको छ ! मेरो काखमा निदाइरहनु भएको छ ! सपना त देख्नुहुन्छ होला ! सपना के देख्नुहुन्छ ? सपनामा के देख्नुहुन्छ ?

…म आफू निदाएको देख्छु !

हँ.. तपाईंलाई आफ्नो सपना याद छ ?

मलाई सपनामा आफू निदाएको याद छ !

तपाईं त भन्दैहुनुहुन्थ्यो कि तपाईं निदाउनुहुन्न !

अँ म निदाउन्न!

अनि सपनामा आफू निदाएको कसरी सम्झनुहुन्छ ?

म सम्झन सक्दिन- म आफू सपनामा निदाएको कुरा कसरी सम्झन सक्छु ! म धेरै दिनदेखि सपनामा आफू निदाएको देख्छु !

जब-जब सपनामा म आफू निदाएको देख्छु, मलाई डर लाग्छ ! म ब्युझन्छु !

तपाईंलाई डर किन लाग्छ ?

सपनामा निदाएको देखियो भने चाढै मरिन्छ रे !

नखाएर, नसुतेर चाइ मरिएला नि बरु !

उ फेरि बोल्दैन !

तपाईंलाई अरु कुनकुन सपना याद छ ?, म सोध्छु !

“मलाई अरु कुनै पनि सपना याद छैन! ” उ भन्छ,”…बस् , म विगत १५ दिनदेखि एउटै सपना देखिरहेको छु- जहाँ म आफू निदाएको देख्छु ! मलाई यो सपना याद छ, बस् यै ..यै सपना !”

 

***

मैले उसको कुरा तपाईंले जस्तै केइ पनि बुझ्न सकेको छैन ! एउटा मान्छे यदि निदाउदैन भने सपना कसरी देख्छ ? सपनामा, आफू निदाएको देख्न पनि त निदाउन जरुरी छ ! छ कि छैन भन्नुस त ? …तर उ निदाउथ्यो ! उसलाई आफू निदाएको याद हुन्नथ्यो !

उ के भन्थ्यो ?
भन्थ्यो- म निदाउनै सक्दिन ! म बिल्कुलै १५ दिनदेखि निदाएको छैन ! जब कि उ ११ औं दिनसम्म मेरो काखमा निदायो !

र, त्यसपछी ? ११ दिनपछि ?
उ आएन ! उ मकहाँ आएन !
उ कहाँ गयो ?
म जान्दिन उ कहाँ गयो ! उ म कहाँ आएन !
केइ अन्दाज लगाउन सक्नुहुन्छ, उ कहाँ गयो होला ?
मर्यो होला ! यदि उ मरिसक्यो भने उसको लागि धेरै राम्रो हुनेछ ! उसको मृत्यु स्वयं उसको लागि फाइदाजनक ठहरिनेछ !
कसरी ?

एक बिर्सने मान्छे ! एउटा ननिदाउने मान्छे ! भोक नलाग्ने मान्छे..,तपाईं आफै भन्नुस बाचेर के गर्छ ? …उ बाच्नै सक्दैन ! मलाई त लाग्छ – उ पक्कै मर्यो !

उ देखिन्थ्यो कस्तो ?

एकदमै झुत्रो ! दारीकपाल पालेको ! कुनै दार्शनिक जस्तो !

म जस्तो त होइन नि …?

तपाईं त राम्रो हुनुहुन्छ ! दारी कपाल मसिनो भएको ! सुकिलो, हट्टाकट्टा ! म फ्यान हु तपाईंको ! तपाईंको राइटिङको !

म हास्छु ! धेरैबेर हास्छु !

किन हास्नुभयो ? तपाईं किन हास्नुभयो झल्लु जि ? म त तपाईंलाई मेरो कथा सुनाउँदै छु !

म हासिरहन्छु !

तपाईं मकहाँ आउनुभयो ! तपाईं एक लेखक, म बेश्याकहाँ आउनुभयो ! यति बुझ्ने मान्छे..जान्ने मान्छे ! म बेश्याको कथा-जो विगत १५ दिनअगाडि घटेको हो ! म हुबहु तपाईंलाई सुनाउदै छु ! र, तपाईं हुनुहुन्छ कि हास्नुहुन्छ ?

 

म हासि नै रहन्छु !

तपाईंलाई के लाग्छ झल्लु जि त्यो मान्छे जीउँदै होला कि मर्यो होला ?

म हास्न बन्द गर्छु !,”तिम्लाई के लाग्छ म जीउँदै छु कि मरिसके ?”
तपाईंको मतलब ? ….
तिम्रो मतलब? …. म उस्को हात मेरो छातिमा लगिदिन्छु !

“…मतलब ?
तपाईं ? त्यो मान्छे ?
त्यो मान्छे ? तपाईं ?…”

Comments

comments