प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (आइतबार) को संसद प्रतिपक्षी दललाई पेलेर अगाडि बढाउने ढाँचामा सञ्चालन गरिएको आरोप लगाएको छ ।

आइतबारको संसद वैठकमा प्रधानमन्त्रीको सम्वोधनपछि नाराबाजी गरेका प्रतिपक्षी दल नेपाली कांग्रेसका सभासदहरुले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले ‘हुकुमी’ शैलीमा संसद चलाएको आरोप लगाएका छन् ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबारे प्रश्नोत्तर गर्न माग गर्दा सभामुख महराले समय नदिएको भन्दै कांग्रेसले नाराबाजी गरेको थियो ।

कांग्रेसको वेल घेराउ र नाराबाजीपछि बैठक स्थगित भएको छ । बैठक स्थगित भएपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई वक्तव्य पढ्न दिने तर, प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्ने सभामुखको शैली हुकुमी भएको आरोप लगाए ।

‘सरकारलाई आफ्नो कुरा राख्न दिने तर प्रतिपक्षीलाई प्रश्न गर्न दिन्न भन्ने सभामुख, सभामुख कि पार्टी सदस्य ?,’ सांसद थापाले भने, ‘सभामुखका अनुसार संसदको नियमावलीको व्याख्या गर्ने हो भने त उहाँको अनुमति बिना भित्र बस्न पनि नपाइने देखियो ।’

उनले प्रधानमन्त्रीले प्रश्न सामना गर्नु थिएन भने सिंहदरबारबाट मन्तव्य दिएको भए भइहाल्थ्यो किन सदन प्रयोग गरियो ?’ उनले व्यङ्ग्य गर्दै भने । ‘सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेको छ। प्रश्न राख्न खोज्दा सभामुखले ढाकछोप गर्न खोज्नुभयो,’ थापाले भने, ‘ प्रश्न सोध्ने पूर्वसहमति थियो, हामीले पाँच जनाको नाम दिएका थियौं । तर पछि सभामुखले सत्तापक्षसँग मिलेमतो गर्नुभयो । हुकुमी शैलीमा संसद चलाउन खोज्नुभयो ।’

 

Comments

comments