रेशम चौधरीले जेल बसेकै अवस्थामा सांसदको सपथ लिन पाएको घटनापछि अब ‘डन’ छविका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पनि सांसदको सपथ लिने अनुमान चलिरहेका बेला गण्डकी सरकारले अनुमान विपरीतको निर्णय गरेको छ ।

दीपक मनाङ्गे (राजीव गुरुङ) ले सांसदको सपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानून अनुसार गुरुङ्गलाई सपथ गराउन नमिल्ने निष्कर्ष निकालेपछि मनाङ्गेको सांसद बनेर प्रदेशसभा छिर्ने सपनामा तुषारापात भएको छ ।

सोमबारदेखि शुरु हुने हिउँदे अधिवेशनको कार्यसूची तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापति समेत रहेका सभामुख अधिकारीले मनाङ्गेलाई सपथ नगराउने निर्णय गरिएको जानकारी दिएका छन् । मनाङ्गेलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुको फरक–फरक मत आइरहेको थियो ।

सभामुख अधिकारीले यसअघि सपथका विषयमा छलफल गर्न परामर्श समितिको बैठक डाकेका समेत बोलाएका थिए । आइतबार बसेको बैठकमा पनि सपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो । मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।

सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँग छलफल तथा राय मागेका थिए । मनाङेले १२ गते एक व्यक्तिमार्फत प्रदेशसभामा सपथको माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् । प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि मनाङ्गेलाई सपथ गराउने अनुमान चलिरहेको थियो । तर, सभामुख अधिकारीले गुरुङलाई सपथ नगराउने निष्कर्ष निकालेका हुन् ।

मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुना बाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै मनाङ्गे सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए ।

उनले गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा चुनाव जितेका थिए ।

Comments

comments