यसपटकको लक्ष्मी स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सम्मान गरिने भएको छ ।नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पुर्‍याएको योगदानको कदर गर्दै सो पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।

प्राध्यापक तारा बराल संयोजकत्वको प्रतिभा छनोट समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा सहप्राध्यापक रामगोपाल ढेवाजु र पत्रकार रवीन्द्र बास्तोला सदस्य थिए ।

पुरस्कारको राशि नगद ३० हजार ५ सय ५५ सहित दोसल्ला र सम्मानपत्र छ ।

लक्ष्मी सिग्देलको स्मृति दिवसमा पुस २० गते शुक्रबार विशेष समारोहबीच सो पुरस्कार प्रदान गरिनेछ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पुरस्कार हस्तान्तरण गरिने पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले जानकारी दिए ।

लक्ष्मी सिग्देलले झन्डै ४ दशकभन्दा बढी समयसम्म शैक्षिक क्षेत्रको माध्यमबाट सामाजिक विकासमा योगदान पुर्‍याएकी थिइन् । उनको स्मृतिमा छोरा शरदकान्त सिग्देल र छोरी शारदा सिग्देल पराजुलीले २ लाखको अक्षय कोषबाट पुरस्कार स्थापना गरेका हुन् ।

पृथ्वीधर सिग्देल समाजले सञ्चालन गर्दै आएको सो पुरस्कार प्रत्यक २ वर्षमा शिक्षा तथा समाज सेवामा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने गरिन्छ ।यसअघि सो पुरस्कारबाट शिक्षासेवी बलवीरसिंह नेगी र समाजसेवी गणेशबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Comments

comments