सधैँ रातो फूल फुल्ने
देउरालीको गुराँसको हाँगोमा
रातो रङले भिजेर
मेरै उमेरसँग मिल्दोजुल्दो
कवि किस्ने आफैँ फुलेछ !

आफ्ना पुर्खाले कैयौँपल्ट
नुनको ढाकर बिसाएर पसिना पुछेको
यही गुराँसको फेदमा
अक्सर, ऊ मिसाउँथ्यो–
बाँसुरीको इन्द्रेणी धुन !
जब मिसाउँथ्यो
स्वर्गबाट रङ बोकेर आइपुग्थे– पुतलीहरु
र, बाँसुरीबाट भत्केको सङ्गीत लिएर उड्थे,
पात बजाउँदै
त्यहीँबाट फेरि उकालो चढ्थ्यो–
वर्षौँदेखि थाकेको भरिया समय !

ऊ पिउँथ्यो छहराहरुमा–
पुर्खाले बगाइदिएको आशीर्वाद !
छातीमा पहिरो टाँसेका पहाडलाई
मायाले थुमथुम्याउँथ्यो !
चिराग बालेर हिँड्ने मैदानलाई
प्रेमले अँगाल्थ्यो !
एकाध गाली गथ्र्यो ऊ–
सहरको बेइमानी रातलाई !
ऊसँग पनि थियो–
फाँटमा धानका बालासँगै
दुःखको गीत गाउने मुटु !
नागीजस्तो निधार !
हेमन्तमा चोक्टाचोक्टी देखिने
कुहिरोजस्तो समयतालिका !
र, चमेली फूल जिस्काएर भाग्ने
बतासजस्तो बैँस !

२०६१ साल माघ १९ गते बेलुकी
रत्नपार्कको किनारैकिनार
रु. ५ को बदाम किनेर खाँदै हिँड्दा
कवि किस्नेले भनेको थियो–
दाइ, एकपटक सिटी सेन्टरमा
ज्याकेट किन्ने रहर छ,
दरबारमार्गको कुनै कफिसपमा बसेर
सानसँग मटरमार सिगे्रट पिउने रहर छ,
मसँग एउटा सपना पनि छ !
कवि किस्नेले मलाई
आफ्ना रहरहरु सुनायो
सपना सुनाएन !

राष्ट्रिय झन्डाझैँ हाँगोमा हल्लिरहेथ्यो–
उसको मृत शरीर !
गुराँसले राता फूलहरु निचोरेर
भिजाइरहेथ्यो उसलाई !
भीडका आँखाहरुमा थियो–
मौनताको सिङ्गै आकाश !
उसको मृत्युमा उसकै बाँसुरीले पनि
बजाएन– शोकधुन !

साँझ ढल्यो÷जून अस्तायो
चराहरु निदाए !
मेरो सपनामा अन्तिमपल्ट
सपना बोकेर आयो ऊ !
सुनाएर गयो सपना–
पत्थरहरुलाई फूल बनाउँछु
पुस्तकहरुलाई फूल बनाउँछु
पुतलीहरुलाई फूल बनाउँछु
म गुराँसकै हाँगोमा फुलाउँछु–
रङबिरङका फूलहरु !

———

Comments

comments