कसैले म्यासेज गरेर तपाईलाई केही ज्ञानदिने कुराहरू पठायो भने तपाईलाई ती कुराहरू त्यति पढ्न मन लाग्दैन। नपढिकिनै डिलिट गरिदिनुहुन्छ। तर, यदि कसैले त्यै म्यासेजमा तपाईलाई कुनै नकारात्मक सन्देश दिने, कसैलाई आक्षेप लगाएर लेखेको अथवा कुनै अस्लिन कुराहरू लेखेर पठायो भने हामी त्यसलाई खुव चासो दिएर अन्त्यसम्म पढ्छौं।अझ आफूले पढिसकेर अरुलाईपनि फर्वाड गर्छौं। किनकि हाम्रो सोच सकारात्मकतिर भन्दा नकारात्मकतिर डरलाग्दो तरिकाले ढल्कीरहेको छ। जुनकुरा हामीलाई थाहै हुँदैन।

संसारको सबैभन्दा खतरनाक रोग के हो ? भनेर कसैले सोध्यो भने मेरो सिधा उत्तर हुन्छ- नकारात्मक सोच।
मेरो लागि नकारात्मक सोच सबैभन्दा ठूलो र डरलाग्दो रोग हो।

मलाई थाहा छ, केहीलाई तल मैले लेखेका कुराहरू पढ्नमा त्यति मन लाग्ने छैन। किनकि मैले यहाँ निराशाको कुरा नगरौं भनेको छु। यहाँ केही सकारात्मक कामको बारेमा लेखेको छु।

अन्त्य भएको लोडसेडिङ,

– व्यापक सुधार भएको मुग्लिङ – नारायणगढ सडकखण्ड,

– अन्त्य भएको कलङ्कीको अत्यासलाग्दो सवारी जाम ,
हट्दै गरेको काठमाडौंको धुलो ,

– बन्दै गरेका चिल्ला सडक,

– बन्दै गरेको २२ तले आधुनिक धरहरा,

– चाडैं संचालनमा आउदै गरेको गौतम बुद्ध बिमानस्थल,

– बुटिक एअरपोर्टको रूपमा रुपान्तरण हुँदै गरेको त्रिभुवन बिमानस्थल,

– घोषणा गरे अनुरुप लक्ष्य प्राप्तिको नजिक पुगेको आर्थिक वृद्धिदर,

– पहिलेको तुलनामा दर्ता भएका हज्जारौं नयाँ उद्योगहरु,

– ईतिहासमै पहिलोपटक रेकर्ड ब्रेक गर्दै भित्रिएका बाह्य पर्यटक,

– खुलेका र खुल्ने तयारीमा रहेका पुराना बन्द भएका ठुला
उद्योगहरु,

– नेपाली सेनाले तिब्र रूपमा अगाडी बढाईरहेको फास्ट ट्र्याक,

– पाँच बर्ष भित्र काठमाडौंमा मोनोरेल कुदाउने गरि भर्खरै चाईनासंग भएको सम्झौता।

– सुदृढ भएको छिमेकी देशसंगको सम्बन्ध,

– र,सधैको “नेपाल बन्द ” बाट बिकासको बाटोमा अगाडि बढेको नेपाल। अस्तव्यस्ततालाई छिचोल्दै अगाडी बढ्न खोजिरहेको नेपाल ।

यि र यस्तै थुप्रै सकारात्मक कामहरु देशमा भएका छन्, भैरहेका छन्। परिबर्तन भन्नेकुरा तीन मिनेट तातोपानीमा चाउचाउ डुबाएर खाएजस्तो छिटो हुँदैन भन्नेकुरा सबैलाई थाहा छ। थाहा हुँदाहुदै पनि हाम्रो सोचाइ किन सधैं नकारात्मकताको राजमार्गमा दौडिरहेको छ ? किन यस्तो डरलाग्दो रोग बोकेर बाँचिरहेका छौं हामी ?

बिहानै उठेर अनलाइन समाचार, पत्रीका पढ्यो, ती पत्रीकाको मुख्य पृष्ठमा सधैं सरकारको आलोचना र अस्तव्यस्त देशको चित्र मात्र देख्छु। बिहानै त्यस्ता समाचार पढ्दा ,सुन्दा यस्तो लाग्छ कि यो देशमा केही भएकै छैन, हाम्रो भविष्यसंगै हाम्रा सन्ततिको भविष्य अन्योल र अस्तव्यस्त हुनेभयो, नेताहरुले सबै बर्बाद बनाए। हामी मात्र ठिक अरु सबै बेठिक ।

रास्ट्रपतिले अर्बौंको हेलिकप्टर किन्न लागिन् भनेर समाचार लेख्ने पत्रकारलाई थाहा नभएको होइन कि, हाम्रो देशको सेरेमोनियल रास्ट्रपतिमा त्यस्तो कुनै अधिकार छैन।सेनाले देश भित्रका हुन् या बाहिरबाट आउने VVIP को लागि भनेर किनेको हेलिकप्टरमा केवल रास्ट्रपतिको नाम जोडेर देशको एउटा सम्मानित संस्थाको बद्नाम बनाईयो, बनाईरहेका छन्।

समाचार पढ्दा यस्तो लाग्छ कि त्यो हेलिकप्टर सरकारले रास्ट्रपतिको नाममा नामसारी गर्दिदैछ, आफ्नो कार्यकाल सकिएपछि त्यो हेलिकप्टर बिद्यादेवि भन्डारीले जैलाउनुहुने छ। देशले एउटा हेलिकप्टर किन्दा राष्ट्रिय मिडियाका मुख्य पृष्ठ रङ्गिए। भोलि देशमा बिपत आईपर्दा त्यो चौध सिटको हेलिकप्टर ठूलो काम आउने छ, सेनाले त्यसको प्रयोग त्यो बखत पनि गर्नेछ भन्नेमा हाम्रो सोचाइ जादैन। जान मान्दैन।किनकि हामीमा नेगेटिभ नाम गरेको रोगको जरोले राज जमाएको छ।

खोजी पत्रकारीता मार्फत गलत कुराको उजागर गर्दै नागरिकसम्म सूचना प्रवाह गर्नु नराम्रो हुँदै होइन। कान्तिपुरको केहीदिन अगाडीको खोजी पत्रकारीताले काठमाडौंमा घर भएका सांसदहरूले लिदै आएको घरभाडाको बिषयमा सत्यतथ्य समाचार प्रकाशित गरेर गज्जबको कार्य गर्यो। देश बनाउन भनेर राजनीतिमा आएकाहरुले देश चुसिरहेको घिनलाग्दो तस्बिर बाहिर ल्यायो।तर, पछिल्लो समय केही पत्रीकाले हल्लाको भरमा नकारात्मकताको पोईजन घोलेजस्ता हेडलाईन हालेर समाचार प्रकाशित गरेर नागरिकमा व्यापक निराशा पैदा गराईरहेका छन्।

निर्मलाको बलात्कार र हत्याकाण्ड पछी यसरी हल्ला फिजाईयो कि, मानौँ यो देशमा सबै बलात्कारी पुरुषहरु मात्र बस्छन् । यो देश बलात्कारको अखडा हो। यहाँका नारीहरु एक्लै हिड्नु भनेको बलात्कारको सिकार हुनु हो ।

के यो देशमा यो भन्दा अगाडी कुनै बलात्कार र हत्या भएका थिएनन् ? यस् भन्दा अगाडिका सबै अपराधमा के नेपाल प्रहरीले घटना हुँदानित्तिकै अपराधी पक्राउ गरेको छ ? एउटा प्रहरीको गल्तीमाथी टेकेर सिङ्गो प्रहरी संगठन माथि आरोप लगाएको देख्दा यस्तो लाग्छ कि यो देशमा नेपाल प्रहरीको स्थापना निर्दोषलाई फसाउन अनि अपराधीलाई संरक्षण गर्न गरिएको हो।

रत्नपार्कको फुटपातमा बसेर भविष्य हेर्ने भारतीय जोगी जस्तै भएको छ हाम्रो पत्रकारीता। चाहे काङ्ग्रेस सरकारले थालनी गरेका काम होस्, चाहे कम्युनिस्ट सरकारले सम्पन्न गरेका आयोजना हुन्। पत्रकारको कलम र क्यामेरा ती सकारात्मक कामतिर भन्दा त्यहाँ भएको सानोतिनो कमी कमजोरीतिर बढी सोझिन्छन्। कमजोरी नदेखाउने भनेको होइन, पत्रकारीताले झक्झक्याउने काम गर्नुपर्दछ,गलतको विरुद्धमा कलम चल्नुपर्दछ। तर, कमजोरीसंगै भएका सकारात्मक कामको समाचारले पनि मुख्य पृष्ठमा स्थान पाए मजस्ता देशको सुनौलो दिनको पर्खाईमा बसेका नागरिकको मुहारमा केही खुसीका धर्साहरु देखिने थिए। नागरिकमा निराशा छाउनु भनेको देशको लागि घातक हो। सकभर नागरिकमा निराशा पैदा हुन दिनुहुन्न। तर, २१औं सताब्दिको सबैभन्दा शक्तिशाली हतियार (मिडिया)ले व्यापक निराशा छरिरहेका छन्।

बिहानै पढिने त्यस्ता निराशाका समाचारले मलाई दिनभर रन्फनाईरहन्छ, टाउको भम्म हुन्छ, निराश बनाउछ । त्यसैले मैले आजभोलि बिहानै फेसबुक र अनलाइन समाचारका लिङ्कतिर आँखा डुलाउनै छोडिदिए। आजभोलि बिहानै उठेर सकारात्मक उर्जादिने प्रवचनहरु युटुवमा सर्च गरेर हेर्न थालेको छु। यसले मलाई पूरा दिन सकारात्मकतातिर डोर्याउन मद्दत गरिरहेको छ।

निराशा होइन, आशाको खेती गरौं। देशमा निराशाको खाल्डो खनेर हामीले हाम्रो र हाम्रा सन्तानको भविष्यलाई आफैलाई थाहा नहुने गरेर पूर्न खोजिरहेका छौँ ।

 

Comments

comments