काठमाडौं।नेपालभर पछिल्लो समय मार्सी चामलको चर्चा बढेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएसँगै यो चर्चा चुलिएको हो ।

के हो मार्सी चामल ?

मार्सी धानको खेति विशेष गरी जुम्लामा हुने गर्छ । त्यो मार्सी धानबाट तयार गरिने चामल रातो रङ्गको हुने भएकाले यसलाई अंग्रेजीमा रेड राइस पनि भन्ने गरिन्छ । यो चामल हिमालको तल्लो भेग र उच्च पहाडी भेगमा फल्ने गर्छ । यो बिमारीहरुका लागि पनि स्वस्थ्यकर मानिन्छ । यो चामल खाँदा धेरै समय भोक नलाग्ने विशेषता समेत रहेको छ । मार्सी धानको उत्पत्ति नेपाल मै भएको हो । अत्याधिक चिसो सहन सक्ने र पानीमा फल्ने भएकाले यसको नाम मार्सी राखेको विज्ञहरु बताउँछन् ।

मार्सी धान २ महिनाको ब्याड तयार गरेर हिलोमा रोपिन्छ । यो धानको बिउ रोपेदेखि काट्दासम्म करिब ८ महिना लाग्ने विज्ञ बताउँछन् । चिसो हावापानीमा रोपिने भएकाले यो धान फल्न धेरै समय लाग्ने गर्छ । यसको बोट करिब १ मिटर लामो हुने गर्छ । विज्ञका अनुसार जुम्लामा फल्ने मार्सीमा आइरन, स्टार्च, सेलेनियमको मात्रा अरु धानको भन्दा धेरै हुन्छ । यो धानको चामल अरु भन्दा स्वस्थ्कर र स्वादिलोपनि हुने गर्छ । २ सय ५० रुपैयाँ प्रति केजीमा मार्सी चामल बिक्री वितरण गर्दै आएको व्यापारीहरु बताउछन् ।

Comments

comments